Listen Live

सञ्चारका कारण परिवर्तन हुँदैछ म्याग्देली समाज
Posted On: Jan 01, 1970

सञ्चारका कारण परिवर्तन हुँदैछ म्याग्देली समाज

 

    लाहुरेहरुको जिल्ला भनेर चिनिने म्याग्दी जिल्लामा पछिल्लो समयमा आएर रेमिट्यान्स र कारोवारका कुरा भन्दा पनि घटना,सरोकार, विकास र वातावरण सम्वन्धि कुराहरु बढि सुनिन थालेका छन् । जिल्लामा एफएम रेडियोको सुरुवातसंगै जनतामा समाचारसुन्ने,विश्लेषण गर्ने,आफ्नो गाउँठाउँमा भएका खवरहरु सार्वजनिक गर्ने,र सामाजिक कामहरुप्रति अग्रसर हुने प्रवृत्ति बढ्दै जान थालेको छ । यसमा संचारमाध्यमको महत्वपूर्ण भूमिका रहेको छ ।

    देशमा भएको राजनीतिक परिवर्तनसँगै म्याग्दी जिल्लामा पनि सञ्चारको विकास भएको हो । म्याग्दीमा विकास भएको सञ्चारजगतले समाज परिवर्तनका लागि राम्रै भूमिका निर्वाह गरेको छ । त्यसो त पत्रकारिताको विषयलाई लिएर कहिलेकाँही जिल्लामा टिका टिप्पणी पनि नहुने होइनन् तर ती टीका टिप्पणीको आशय पनि जिल्लामा स्वतन्त्र पत्रकारिताको विकास र तटस्थ संचारमाध्यमको भूमिकामा नै केन्द्रित हुने गरेको पाइएको छ ।

    म्याग्दीकोे पत्रकारिता फस्टाउँदो अवस्थामा छ । अहिले सदरमुकाम बेनीवजारमा १ दैनिक,४ साप्ताहिक पत्रिका र २ वटा एफएम रेडियो र २ वटा अनलाइन पत्रिका  संचालनमा छन् । रुप्से दैनिक, सम्मृद्ध    साप्ताहिक, बेनी साप्ताहिक, म्याग्दी संचार साप्ताहिक,नवविकल्प साप्ताहिक ,म्याग्दीकाली एफएम, रेडियो म्याग्दी, बेनी अनलाइन र म्याग्दी अनलाइन म्याग्दीमा संचालनमा छन् । त्यसैगरी पोखरा,कुश्मा र वागलुङबाट प्रकाशित र प्रशारित हुने पत्रपत्रिका ,रेडियो र टेलिभिजनको समेत म्याग्दीमा राम्रो पहुँनच रहेको छ । धौलागिरीको पहिलो एमएम रेडियो धौलागिरी एफएम र धौलागिरी टेलिभिजनले पनि म्याग्दीको समाज परिवर्तनमा उल्लेख्य भूमिका निर्वाहा गरेको छ । म्याग्दीमा  रहेका सञ्चारमाध्यमहरू विशेषगरी समाज जागरण गराउनेतर्फ अग्रसर देखिन्छन् ।
 
    समाजमा विद्यमान कुरीतिदेखि लिएर जनजीविका,संस्कार र संस्कृति संरक्षण,लागु पदार्थ सेवन र यसको असरदेखि लिएर हाइड्रो,पर्यटन,स्वास्थ्य,शिक्षा,राजनीति लगाएतका क्षेत्रमा  यहाँका सञ्चारकर्मीहरूले बढी कलम चलाएका कारण पनि अहिले जनतामा चेतनाको विकास हुँदैगइरहेको पाइन्छ । दाइजो प्रथा, बहुविवाह र बालबिवाह कानुनको हिसाबले दण्डनीय रहेछ भत्रे कुरा सञ्चारमाध्यमबाटै यहाँका आम नागरिकले थाहा पाएका छन् ।

    महिलामाथि हुँदै आइरहेको सामाजिक अपराध र घरेलु हिंसाका समाचारसमेत यहाँका सञ्चारमाध्यमहरूले प्राथमिकताका साथ प्रकाशन र प्रसारण गर्न थालेपछि जिल्लामा घरेलु हिंसाका घटनाहरूमा कमी आएको छ । समाजमा कुनै महिला पीडित भएमा प्रहरीलाई उजुरी दिनुपर्दछ भत्रे चेतनाको विकास राम्रैसँग भएको पाईंन्छ । संचार माध्यमकै पहुँचका कारण गाउँमा हुने विकास निर्माणका काममा भ्रष्टाचार हुने क्रम घट्दै गएको स्थानीयले वताएका छन् । त्यसैगरी गाउँलेमा अन्धविश्वासमा पनि कमी आएको छ भने सामाजिक काम प्रति रुचि वढ्न थालेको बुद्धिजीविहरुले वताएका छन् ।

 

 

Comments