Listen Live

सुन्तलाजात बगैचा सुदृढीकरण आयोजना प्रभावकारी
Posted On: Aug 22, 3217

सुन्तलाजात बगैचा सुदृढीकरण आयोजना प्रभावकारी


म्याग्दी १९ चैत । म्याग्दी जिल्लामा सञ्चालित सुन्तलाजात बगैचा सुदृढीकरण आयोजना प्रभावकारी बनेको छ । सुन्तलाको उत्पादन वृद्धी र गुणस्तर सुधारका लागि आयोजना प्रभावकारी बनेको हो ।

    म्याग्दी जिल्लामा विगत तिन वर्षदेखि आयोजना लागू भएको छ । आयोजना मार्फत पुराना र रोगी सुन्तलाका बोटको उपचार मार्फत नवयौवनीकरण गरि उत्पादनशिल बनाइएको कृषकहरुले बताएका छन् । कृषकहरुले सुन्तला बगैचाको सरसफाई, स्याहारसुसार गर्ने, मल दिने, सिचाई गर्ने शुष्म तत्व आपूर्ती गराउने सिप, प्रबिधि र अनुदान पाएका छन् । 
पुराना र कम उत्पादन क्षमत्ता भएका सुन्तलाका बोटको अवस्थामा सुधार आई पुन उत्पादन दिन थालेका जिल्ला सुन्तलाजात कृषक सञ्जालका सचिव भेषनाथ गौतमले बताउनुभयो । उहाँका अनुसार सुन्तलाको उत्पादन वृद्धी र फलको गुणस्तरमा सुधार आएको छ । 
आयोजना मार्फत पुराना र रोगी सुन्तलाका बिरुवा पहिचान गरि काँटछाट गर्ने, बोडोपेष्ट लगाउने, मलखाद राख्ने, सिचाई गर्ने, झ्याउ हटाउने, शुष्म तत्व आपूर्ती गराउने र रोगकिरा नियन्त्रणको काम गरिएको छ । कार्यालयले कृषकहरुलाई प्राबिधिक तालीमको साथै उपकरण र अन्य सामाग्री खरिद गर्न अनुदानको ब्यवस्था गरेको छ । 

हाल म्याग्दी जिल्लाको ७० हेक्टर क्षेत्रफलको बगैचामा यस आयोजना लागू भएको कृषि विकास कार्यालयका प्राबिधिक सहायक श्यामराज क्षेत्रीले बताउनुभयो । प्रतिहेक्टर बगैचा सुदृढीकरणका लागि ७६ हजार रुपैयाका दरले अनुदान दिने गरिएको छ । 

पहिलो, दोस्रो र तेस्रो वर्षको आयोजना सञ्चालन भएको ठाउँमा क्रमश सतप्रतिशत, पचास प्रतिशत र २५ प्रतिशत अनुदान दिइएको हो । चालु आर्थिक वर्षको पहिलो किस्ताको बिनियोजित अनुदानको पचास प्रतिशत रकम कृषकलाई वितरण गरिसकिएको छ । कृषकहरुलाई प्रबिधि सिकाएर उनिहरु मार्फतनै आयोजनालाई निरन्तरता दिने कार्यालयको योजना छ । 
ताकम, बिम, देविस्थान, बरंजा, ओखरबोट, निस्कोट, दरवाङ, कुहुँ, अर्मन, मुदी, भकीम्ली, सिंगा, घतान, पिप्ले, भगवती, पात्लेखेत, झिँ, बेग, दोवा, हिस्तान, घार, भुरुङ तातोपानी, दाना र नारच्याङ गाविसमा १० वटा आयोजना सञ्चालन भएको प्राबिधिक सहायक क्षेत्रीले बताउनुभयो । 

म्याग्दी जिल्लाको २८० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको छ । यस वर्ष दुई हजार ८६ मेट्रिक्टन उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष सात प्रतिशतले सुन्तला उत्पादन वृद्धी भएको हो ।  

Comments